भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !
Advertisement
काठमाडौं: चीनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौताको टुंगो चाँडै लाग्ने अपेक्षा व्यक्त गरेको छ।
प्रधानमन्त्री केपी ओलीको चैत ७ गतेदेखि सुरु हुने भ्रमणका सन्दर्भमा चीनले स्वतन्त्र व्यापार सम्झौता गर्न प्रक्रियागत विषयमा नेपालसँग चाँडै सहमति हुने विश्वास व्यक्त गरेको हो।स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रूप दिन यतिबेला नेपाल र चीनबीच कूटनीतिक तहमा कुराकानी चलिरहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न दुवै पक्ष लगभग सहमत देखिएका छन्। 'स्वतन्त्र व्यापार सम्झौताले दुई देशबीचको व्यापार सम्बन्ध बढाउन मद्दत गर्नेछ,' काठमाडौंस्थित चिनियाँ दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
चीनले अतिकम विकसित मुलुकहरु (एलडीसीज) को गरिबी घटाएर स्थानीय जनताको जीवनस्तर सुधार्न अधिकतम सहायता उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको पनि विज्ञप्तिमा जनाइएको छ।सन् २०१४ देखि चीनले अघि सारेको 'वन बेल्ट वन रोड' रणनीतिमार्फत विश्वका विभिन्न मुलुकसँग रेल, सडक र समुद्री मार्गमार्फत सम्पर्क बढाएर आर्थिक र पूर्वाधार विकास गर्ने चीनको लक्ष्य रहेको दूतावासले जनाएको छ।
नेपालले एक वर्षअघि मात्र 'वन बेल्ट वन रोड' रणनीतिमा सहभागिता जनाउन चीनसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो।चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको एक्काइसौं शताब्दीको सामुद्रिक सिल्क रुट तथा सिल्क रोड इकोनोमिक बेल्टसम्बन्धी अवधारणामा चीन र दक्षिण तथा मध्यएसियाली मुलुक, युरोपेली मुलुक र अफ्रिकी मुलुकलाई रेल, सडक तथा समुद्री मार्गबाट जोडेर आर्थिक विकासमा सहकार्य गर्ने उल्लेख छ।
सिल्क रोड परियोजना साकार पार्न चीनले ४० अर्ब अमेरिकी डलरको सिल्क रोड कोषसमेत खडा गरिसकेको छ। त्यस्तै चिनियाँ मुख्य लगानीमा एसियाली पूर्वाधार विकास बैंक स्थापना गरिसकेको छ।
'वन बेल्ट वन रोड' रणनीतिमार्फत विश्वका विभिन्न मुलुकसँग रेल, सडक र समुद्री मार्गमार्फत सम्पर्क बढाएर आर्थिक र पूर्वाधार विकास गर्ने चीनको लक्ष्य
'नेपाल प्राचीन व्यापारिक सिल्क रोडको पनि मुख्य मार्ग भएका कारण अहिलेको वन बेल्ट वन रोड परियोजनामा पनि सफलतापूर्वक भाग लिएर अधिकतम फाइदा लिनेछ भन्ने चीनको विश्वास छ,' विज्ञप्तिमा उल्लेख छ। 'वन बेल्ट वन रोड' परियोजना चीनको मात्र नभएर विश्वका अन्य मुलुकको समेत हितमा रहेको दूतावासले उल्लेख गरेको छ।
चीनको मुख्य लगानीमा स्थापित एसियाली पूर्वाधार विकास बैंकले नेपालको विकास प्रक्रिया नयाँ आर्थिक स्रोतका रूपमा रहेको उल्लेख गर्दै दूतावासले नेपाल आगामी दिनमा विकासको पथमा अघि बढ्ने समेत जनाएको छ।
भूकम्पपछिको उद्धार र राहत प्रक्रियामा उल्लेखनीय सहयोग उपलब्ध गराएको जनाउँदै चीनले पुनर्निर्माणका लागि नेपाललाई सक्रिय रूपमा सघाउने इच्छुक रहेको पनि जनाएको छ।
Post a Comment