भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !
Advertisement
भरतपुर (चितवन): भारतीय राजदूत रन्जित रेले नेपाल र भारतको सम्बन्ध पुरानै अवस्थामा आइसकेको बताएका छन् । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चितवनको भरतपुरमा मंगलबार नेपाल–भारत महिला मैत्री समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत रेले केही महिनाअगाडिदेखि दुई देशबीच आएको तिक्तता हटेर अहिले सम्बन्ध पुरानै मित्रवत् अवस्थामा आइसकेको बताएका हुन् ।
राजदूत रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको भ्रमणपछि दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए । ‘नेपाल र भारतबीचको सम्बन्धमा बेलाबेलामा उतारचढाव आउने गरेको छ', उनले भने, ‘यस्तो उतारचढावपछि दुई देशबीचको सम्बन्ध अझ बलियो हुने गरेको छ ।'
दुई छिमेकी देशबीच पहिला पनि सम्बन्ध राम्रो रहेको र बीचमा केही खटपट भए पनि अहिले ती सबै कुरा हटिसकेको उनले बताए ।
‘एकै परिवारका सदस्यहरूमा पनि कुनै समयमा असन्तुष्टि हुन्छन्', राजदूत रेले भने, ‘परिवारमा समस्या आए कुराकानीबाट हल खोजिन्छ ।' नेपाल र भारतबीचको सम्बन्ध कुनै व्यक्तिले नबनाएको र कसैले बिगार्न पनि नसक्ने रेले दाबी गरे । युगौंदेखिको रोटीबेटीको सम्बन्ध अझ राम्रो हुँदै जानेमा आफू विश्वस्त रहेको उनले बताए ।
नेपालले जारी गरेको संविधानले नारीलाई अधिकार दिए पनि त्यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण भएको उनको धारणा थियो । ‘नारीलाई अधिकार दिएरमात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्नु जरुरी हुन्छ', उनले भने, ‘कानुन छ तर कार्यान्वयन छैन भने केही काम लाग्दैन । संविधानले व्यवस्था गरेपछि त्यो व्यवहारमा कसरी उतारिन्छ भन्ने विषय ठूलो हुन्छ ।' यसका लागि सबै पक्षको सहयोग आवश्यक हुने उनले बताए ।
समाजकी अध्यक्ष चन्दा चौधरीको अधयक्षतामा सम्पन्न कार्यक्रममा सांसदद्वय कृष्णभक्त पोखरेल र विक्रम पाण्डे, पूर्वराजदुत डा. माया शर्मा, महिला अधिकारकर्मी पार्वती रावल, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास प्रमुख अञ्जु रञ्जनलगायतले महिला अधिकारबारे बोलेका थिए ।
Post a Comment